काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार १३ जनामा भएको परीक्षणबाट ७ सय ३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५ सय ६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९ सय ८६ जना पुगेको छ । कुल सङ्क्रमितमध्ये ७ लाख ४९ हजार ३ सय १३ जना सङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभर २४ हजार ३ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने १ सय १७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय १३ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यसैबीच १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११ हजार ४० जना पुगेको छ ।