काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएसँगै अब राजनीतिक परिवर्तनका लागि सङ्घर्ष गर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । आज आइतबार संविधान दिवसका अवसरमा एमालेले गरेको एक कार्यक्रममा बोल्दै उहाँले, ‘राजनीतिक परिवर्तनका लागि हिंसा अपरिहार्य हो कि हैन भन्ने बहस थियो । संविधान जारीपछि अब नेपालमा हिंसा आवश्यक छैन । आवश्यक छैन भने यो स्वीकार्य पनि हुँदैन । भेदभाव विभेद जस्ता कुराको अन्त्य गर्दै सामाजिक न्याय र समानतातर्फ देश अगाडि बढ्नुपर्छ भन्ने कुराको प्रत्याभूति भएको छ, हामी त्यस बाटोमा अगाडि बढेका छौँ, भन्नुभयो ।’

उहाँले संविधानले जनताका गाँस, बास, कपास र आवाज जस्ता कुरालाई मौलिक हकको रुपमा समावेश गरेको, ३ तहको अधिकार विकेन्द्रीकृत गरेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले सिंहदरबारबाट शिक्षा, स्वास्थ्य लगायतको अधिकार गाउँ–गाउँमा पु¥याएको बताउँदै कतिपय स्थानमा व्यक्तिको कार्यक्षमताका कारण कार्यान्वयनमा कमी भएको हुनसक्ने टिप्पणी समेत गर्नुभयो ।

उहाँले स्वार्थ समूहका अनेक बाधा व्यवधान पार गरेर संविधान जारी गरेको बताउँदै जनताले सार्वभौम सत्ता सम्पन्नताको अनुभवको सुनिश्चित गर्न लिपिवद्ध गर्ने काम गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘आजभन्दा ६ वर्षअघि हामीले जारी गरेको संविधानले जनतामा रहेको सार्वभौमसत्ता, जनताबाट राज्यशक्ति मिश्रित हुने र जनतामा नै सम्पूर्ण शक्तिको स्रोत हुने कुरालाई संविधानमा सुनिश्चित गरेको छ । त्यसकारण यो उचाइबाट शक्तिको स्रोत जनता हुन् भन्ने कुरा लिपिवद्ध गरेर देशको संविधान सर्वोपरि हुन्छ, जनताको त्यो सर्वोपरिता संविधानमार्फत् जनताले व्यवस्थित गरेको हुन्छ । संविधानले असमानता अन्त्य गर्दै सम्भावनाको फराकिलो क्षितिज खोलेको छ ।’

संविधानले मानव अधिकारको जग बसाएको उल्लेख गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका प्रतिनिधिहरूले बनाएको ठुलो दस्तावेजको रूपमा संविधान रहेको टिप्पणी गर्नुभयो ।