काठमाडौं – सरकारले आज संविधान दिवसको अवसर पारेर तीन बैंकर तथा १९ व्यवसायीहरूलाई विभिन्न पदकबाट विभूषित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले पदक दिनेहरूको नाम सार्वजनिक गरेको हो ।

व्यवसायीहरूको तर्फबाट सुक्रितीमय राष्ट्रदीप पदकबाट व्यवसायी देवीप्रकाश भट्टचन र उपेन्द्र महतोलाई विभूषित गरिने भएको छ । भट्टचन प्रभु बैंकका लगानीकर्ता तथा पूर्व अध्यक्ष हुनुहुन्छ भने महतो गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा मेडिसिटी हस्पिटलका सञ्चालक हुनुहुन्छ ।

राष्ट्र मानपदवी पदक तृतीय श्रेष्णीको यो पदक नेपालको यश, श्रीवृद्धि, हित तथा उत्थानका लागि आ–आफ्नो क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने नेपाली नागरिक वा विदेशी नागरिकलाई दिने प्रावधान छ ।

सुप्रवल जनसेवाबाट ६ जना उद्योगी व्यवसायी विभूषित हुने भएका छन् । जसमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल रहनु भएको छ । त्यस्तै उद्योगी धुब्र कुमार श्रेष्ठ, राजेन्द्र खेतान, शिवरतन शारदा र शाहिल अग्रवाल पनि यो पदकबाट विभूषित हुनुभएको छ ।

यो जनसेवाश्री अन्तर्गतको प्रथम श्रेणी हो । राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पु¥याउने विदेशी नागरिकलाई यो विभूषण दिइने व्यवस्था छ ।

जनसेवाश्री मानपदवी अन्तर्गतको चुतुर्थ सेवा प्रवल जनसेवाबाट २ बैंकर र ९ व्यवसायी पनि विभूषित हुने भएका छन् । बैंकरमा उपेन्द्र पौडेल, रविन्द्र देशराज जोशी रहेका छन् । त्यस्तै व्यवसायीहरूमा राजु ढकाल, गोकुल भण्डारी, अर्जुनमान सैजु, गोविन्द गोइन्का, नारायण अग्रवाल, अम्विकाप्रसाद पौडेल, चिन्तामणि न्यौपाने, हुमनाथ कोइराला, सौरभ दुगड र कृष्णप्रसाद शर्मा रहनुभएको छ ।

जनसेवाश्री मानपदवी अन्तर्गतको पञ्चम श्रेणीबाट व्यवसायी सागर थापा, कमलकिशोर मालपानी, बैंकर दलप्रकाश भट्टचन र व्यवसायी राजेन्द्र मल्ल विभूषित हुनुभएको छ ।