काठमाडौं – नेकपा कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष भीम रावलले संविधान अनुसारका मन्त्री, सांसद लगायतका पदहरूको उपभोग गर्ने तर संविधानविरूद्ध ‘कालो दिवस’ मनाउने कुरा गर्नुलाई अनैतिकताको पराकाष्ठा भएको बताउनुभएको छ ।

मधेश केन्द्रीत दलहरूले संविधान सर्वस्वीकार्य भैनसकेको बताउँदै संविधान जारी भएको ३ असोजलाई कालो दिनका रुपमा मनाउने गरेका छन् । यसवर्ष पनि जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस नमनाउने घोषणा गरेका छन् । तर संविधान अनुसार नै मन्त्री तथा सांसद बनेकाहरूले नै संविधान दिवसलाई कालो दिनका रूपमा मनाउने गरेको भन्दै आलोचना हुने गरेको छ ।

पूर्व गृहमन्त्री समेत रहेका एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत भन्नुभउको छ, ‘संविधान अनुसारका मन्त्री, सांसद लगायतका पदहरूको उपभोग गर्ने तर संविधानविरूद्ध ‘कालो दिवस’ मनाउने कुरा गर्नु अनैतिकताको पराकाष्ठा हो ।’ उहाँले संविधान संशोधनका कुरा गर्नेहरूले कुन धारा संशोधन गरी के राख्न खोजेको हो प्रष्ट पार्न पनि आग्रह गर्नुभएको छ ।