फाइल तस्वीर


काठमाडौं – सरकारले संविधान दिवसको अवसर पारेर ९ सय ३ जनालाई विभिन्न मानपदवी र विभूषण प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिनेहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गर्न लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलङ्कार र विभूषणबाट सम्मान गर्न लाग्नुभएको हो । जसमा सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टरार्ईलाई प्रदान गरिनेछ ।

यसैगरी, राष्ट्रगौरवका रूपमा रहेको पदवी यसपटक स्वर्गी सुवर्ण शमशेर जबरा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएको छ । यस्तै, अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् । यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु–याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ ।

यसैगरी बाग्मती सफाइ अभियन्ता माला खरेल, वरिष्ट कार्टुनिस्ट रविन सायमी, खेलाडीहरू ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङ, गायिकाहरू देविका प्रधान र विष्णु माझी, अक्सिजन सप्लाइकर्ता शंकरलाल अग्रवाल, कोभिडविरुद्ध जनचेतना फैलाउन उल्लेख्य भूमिका खेलेका स्वास्थ्य विशेषज्ञ डा. शेरबहादुर पुन र डा. रविन खड्कालाई पनि विभिन्न पदकद्वारा विभूषित गरिने भएको छ ।

गायकहरू हेमन्त शर्मा, प्रकाश सपुत, नायिका केकी अधिकारी, नायक अनमोल केसीलाई पनि विभूषित गरिने भएको छ । यसैगरी, पशुपतिमा लास जलाएर उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेकी सपना रोका मगर, एसिड पीडित मुस्कान खातुन, तेजिया फौजा मगर, यौनिक अल्पसंख्यक अभियान्ता भूमिका श्रेष्ठ, पर्वतारोही कल्पना महर्जनलगायतलाई पनि महत्वपुर्ण विभूषण प्रदान गर्न लागिएको छ । निजामती, जंगी, प्रहरी र सशस्त्र प्रहरी क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेका कर्मचारी, प्रहरी र सेनाका उच्च पदस्थहरूलाई पनि विभिन्न पदवीले विभूषित गरिने भएको छ ।

यसैगरी, विभिन्न सामाजिक संघसंस्थामा रहेकालाई पनि विभूषित गरिन लागिएको छ । हरेक वर्ष संविधान दिवसका दिन विभूषण पाउनेहरूको नाम सार्वजनिक गरिँदै आएको छ ।

संविधान दिवसका दिन सम्मान गर्ने सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय सरकारले गरेको छ । दोस्रो ठूलो राष्ट्र गौरव विभूषण मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय सरकारले गरेको छ । तेस्रो ठूलो महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण भने प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरा, मोहनचन्द्र अधिकारी, तुलसीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा र नारायण गोपाललाई दिने निर्णय भएको छ ।

सुप्रसिद्ध प्रबल जनसेवा श्री विभूषण प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंहलाई तथा उज्जवल कीर्तिमय राष्ट्रद्वीप न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई दिने निर्णय सरकारले गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको छ ।