धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री तारा लामा तामाङले निष्ठापूूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट हिजो शुक्रबार मन्त्रीमा नियुक्त हुनुभएका तामाङले पदभार ग्रहण गर्दै आम नागरिक र प्रदेशको हितमा इमानदारिता र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

वाषिर्क बजेट विनियोजन भइसकेको अवस्थामा आफूले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउनु चुुनौतीपूर्ण भए पनि सबै पक्षसँगको समन्वय र सरसल्लाहमा अघि बढ्ने उहाँको भनाइ छ । ‘प्रदेश सरकार बजेट विनियोजन गरिसकेको अवस्थामा हामी आर्थिक मामिला मन्त्री र राज्यमन्त्रीमा नियुक्त भएको छौं’ तामाङले भन्नुभयो, ‘चुनौतीपूर्ण भए पनि यो पद जनताकै लागि हो भनेर सकेसम्म जनता र प्रदेशका लागि इमानदारिता र निष्ठापूर्वक काम गर्नेछौं ।’

मुख्यमन्त्री त्रिलोचन भट्टले हिजो शुुक्रबार आर्थिक मामिला मन्त्रीमा तामाङ र आर्थिक मामिला राज्यमन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गर्नुभएको हो ।