काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुनेगरी कुनै पनि ऐन तथा नियम नबनाउने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेशको धुलिखेलमा भएको ‘पहिलो राष्ट्रिय सम्मेलन’ मा उहाँले लोकतन्त्रको लडाइँ गरेर आएको गठबन्धन सरकारमा रहेका पार्टी र त्यसका नेतृत्वले स्वन्त्रताको पक्षमा काम गर्ने बताउनुभएको हो ।

विगतमा कमीकमजोरी र गल्तीहरू केही भएको भए त्यसलाई सच्च्याउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । पत्रकारिता स्वतन्त्रताको विषय भएको बताउँदै शर्माले सङ्घर्ष र आन्दोलन भइरहँदा पत्रकारिताले सबै पक्षको अनुगमन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सरकारका राम्रो नराम्रो पक्षलाई आम जनतासम्म लाने तथा जनताको आवाजलाई सरकारसम्म पु¥याउने सम्वाहकको काम गरी पत्रकारिता जगत्ले ठूलो योगदान गरेको उल्लेख गर्दै उहाँले पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो ।

अधिकार स्वतन्त्रताको विस्तृत रूप हुनुपर्ने र स्वतन्त्रताको जगेर्नाका लागि ऐन कानून पनि त्यहीअनुसार बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले महासङ्घले दिएको सल्लाह सुझावका आधारमा काम गर्ने बताउनुभएको छ ।

प्रतिगमनविरुद्ध अग्रमोर्चामा उभिएर खबरदारी गर्ने र राजनीतिक पार्टीलाई ठीक बाटोमा लैजान पत्रकारिता जगत्ले खेलेको भूमिकाको कसैले पनि अबमूल्यङ्कन गर्न नसक्ने उल्लेख गर्दै कमीकमजोरी हुँदा सञ्चार जगत्ले गरेको आलोचना तथा सकारात्मक काम गर्दा पाएको प्रेरणालाई आधार बनाएर नै आफू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।