काठमाडौं – नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाउनुभएको छ । आज काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिनुभएको हो ।

आयोजित कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले भन्नुभयो ‘त्यो सम्झौता ठीक थियो भने अघिल्लो सरकारले यसलाई अगाडि बढाऔं भनेकै हो ।’ तर दलहरुले सडकमा आगो बालेको र केपी ओली तथा सरकारमा बसेकाहरुले गाली खानु परेको बताउनुभयो । विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न गर्नुभएको छ ।

एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उहाँले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफूहरुको धारणा सार्वजनिक गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, सरकार भनेको एउटा अभिछिन्न उत्तराधिकारीवाला संस्था हो । अघिल्लो सरकारले गरेको भएपनि यसलाई अगाडी बढाआँै भन्दा आगो बाल्नु भो उहाँहरुले । सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली । सम्झौता गर्ने उहाँहरु गाली खाने हामी त्यतिबेलाका सरकारमा रहेका मान्छेहरु । यदी त्यो गलत थियो भने सम्झौता किन गर्नुभयो तपाईहरुले ? यदी सहि थियो भने त्यसलाई पास हुनबाट किन रोक्नु भो तपाईहरुले ? अनि आज प्रतिपक्षको सहयोग खोजिरहनुभएको छ । आज उहाँहरुसँग संख्या छ उहाँहरुले अगाडी बढाउने हो भने अगाडी बढाए हुन्छ । जे भन्नुपर्ला प्रस्ताव आइसकेपछि त्यति बेला नै हामिले आफ्नो पोजिसनहरु क्लियर गरौँला ।’

एमाले सचिव ज्ञवालीले संवेदनशील विषयलाई आन्तरिक राजनीतिको हतियार बनाउँदा देशकै विश्वसनीयतालाई कमजोर गराउने बताउनुभएको छ । नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताउनुभयो । यसले छिमेकी राष्ट्रहरुमा देशको विश्वसनीयतालाई कमजोर गराउने उहाँको तर्क छ । नेता ज्ञवालीले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको भन्दै सिमा समस्या नै नभएको चीनसँग भने सिमा समस्या देखाएर सम्बन्धमा चिसोपना निम्त्याउने काम गरेको भन्दै दुवै छिमेकी राष्ट्रहरूसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।