काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पार्टीका हरेक तहका कमिटीहरूमा कार्यकर्ताले नेता छान्न पाउने विधि लागू गर्नुपर्ने बताउनुभएको छ । अनेरास्ववियू क्रान्तिकारीको २४ औं क्याम्पस जिल्ला सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै नेता शर्माले माथिबाट नेता तोकिदिने परिपाटी अन्त्य गर्दै जानुपर्ने कुरामा जोड दिनुपर्ने बताउनुभएको हो ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुख समेत रहनु भएका नेता शर्माले सङ्गठनका हरेक तहमा युवाहरुले आफ्नो नेतृत्व आफै छान्ने विधिलाई स्थापित गर्नुपर्ने बताउनुभएको छ । ‘युवाहरु अघि बढ्नुस्, आफ्नो नेता तपाई आफै चुन्नुस्’ उहाँले भन्नुभयो ‘माथिबाट तोकिदिएको नेताले भन्दा चुनिएर आएको नेताले सङ्गठन बनाउँछ, पार्टी बनाउँछ ।’ उहाँले पार्टीको नीतिबमोजिम विद्यार्थी सङ्गठनमा समेत ३५ प्रतिशत संख्यामा महिला नेतृत्व चुन्न आग्रह गर्नुभयो ।
अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत सरकारले देशका हरेक वडाहरूमा ‘लेडिज फष्ट’ (अर्थात महिला पहिला) कार्यक्रम ल्याएको उल्लेख गर्दै यसको मर्मबमोजिम हरेक निकायमा महिलालाई नेतृत्वदायी तहमा जिम्मेवारी दिन आग्रह गर्नुभयो । यस्तै सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको जानकारी दिँदै मन्त्री शर्माले अब हरेक विद्यार्थी स्वरोजगार हुँदै जानुपर्ने र हरेक विद्यार्थी कुनै न कुनै उत्पादनमूलक काममा समेत जोडिनुपर्ने बताउनुभएको छ । विद्यार्थी सङ्गठनको नेता नियमित रुपमा अध्ययनरत विद्यार्थी नै हुनुपर्ने भन्दै शर्माले शैक्षिक संस्थाबाट पास आउट भइसकेको व्यक्तिले पुस्तान्तरण गरी आफ्नो उत्तराधिकारी जन्माउँदै जानुपर्ने बताउनुभयो ।