काठमाडौं –कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी) मुलुकको विकास र समृद्धिका लागि आवश्यक रहेकोले यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने बताउनुभएको छ ।

आज कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुग्नुभएका कानूनमन्त्री कार्कीले एमसीसी विकास परियोजना भएकोले मुलुकको विकास र समृद्धिका लागि आवश्यक रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘नेपालको वैदेशिक सहायताको इतिहासमा यति ठूलो अनुदान रकम अहिलेसम्म आएको थिएन ।’

उहाँले दलीय खिचातानीले एमसीसी ओझेलमा पर्ने सम्भावना बढाएको भन्दै जसरी भएपनि संसद्बाट पास गराउनुपर्ने बताउनुभयो । एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उहाँको भनाइ छ । एमसीसी संसदबाट पास गराउनका लागि सबैबीच सहमतिको खाँचो रहेको उहाँले उल्लेख गर्नुभयो ।