फाइल तस्वीर
काठमाडौं – चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको खोपमध्ये ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुगेको छ । आज दिउँसो नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत सरकारले चीन सरकारसँग खरिद गरेको ६० लाख डोज खोप मध्ये ४४ लाख डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग नन डिस्क्लोजेवल एग्रिमेन्ट गर्दै ६० लाख डोज भेरोसेल खोप खरीद गर्ने सम्झौता गरेको थियो । सम्झौता अनुसार १६ लाख डोज खोप भदौ ४ र ५ गते नेपाल आइसकेको छ । बाँकी रहेको ४४ लाख डोज खोप आज शुक्रबार नेपाल पुगेको हो । आज आएको खोपमध्ये बागमती, लुम्बिनी र गण्डकी गरी तीनवटा प्रदेशमा विमानस्थलबाटै खोप वितरण गरिने छ भने बाँकी प्रदेशहरुमा शनिबार वितरण गरिने छ ।

आज आएको खोप दोस्रो मात्रा लगाउन बाँकीलाई दिने र खोप लगाउन बाँकी भएकाहरुलाई पहिलो मात्रा दिन सुरु गर्ने योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको भदौ ३१ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने हालसम्म देशभर ५४ लाख ७३ हजार १ सय ५१ जनाले कोरोना पूर्ण मात्रा खोप लगाइसकेका छन् भने ६० लाख ५७ हजार १ सय ९४ जनाले पहिलो डोज खोप लगाएका छन् । यस्तै नेपालले हालसम्म कोभिसिल्ड २४ लाख ४८ हजार, भेरोसेल ७४ लाख, जोन्सन एन्ड जोन्सन १६ लाख, एस्ट्राजेनेका १७ लाख ७७ हजार ३ सय २० मात्रा खोप प्राप्त गरिसकेको तथ्याङ्क छ ।