भक्तपुर – नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै भक्तपुरमा हुने नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । काङ्ग्रेसले जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेसँगै नगर सभापतिका आकांक्षीले उम्मेदवारी घोषणा गर्न थालेका हुन् । नेपाली काङ्ग्रेस सूर्यविनायक नगर समितिले दुई प्यानल खडा गरेर आफ्नो उम्मेदवारी दिने भएको छ । दुई समूहले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा समेत जुटेका छन् ।

सूर्यविनायक नगर समिति सभापतिमा काङ्ग्रेस जिल्ला सचिव निशान ढुङ्गेलले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै सूर्यविनायक नगर समितिका उपसभापति रवि राणाले पनि प्यानल नै बनाएर उम्मेदवारी घोषणा गर्नुभएको छ । ढुङ्गेल नेतृत्वको प्यानलबाट उपसभापतिमा रमण कायष्ठ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी, क्षेत्रीय प्रतिनिधिमा अम्बिका थापा र शशी बस्नेतले उम्मेदवारी दिने जनाएको छ ।

यस्तै राणा नेतृत्वको प्यानलबाट उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमिल्सिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामेले प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । ढुङ्गेल काङ्ग्रेस संस्थापन सभापति शेरबहादुर देउवाको पक्ष र राणा संस्थापन इत्तर पक्षका हुनुहुन्छ । रासस