बनेपा – बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोल पम्प अगाडि गाडीभित्र बालिकालाई जबरजस्ती करणीको अभियोगमा दुईजनालाई पक्राउ गरिएको हो । उनीहरु फरार थिए ।

पक्राउ पर्नेमा गाडी चालक झापाको हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जान भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई गन्तव्यसम्म पु¥याइदिने भन्दै उनीहरुले आफूसँगै लिएका थिए ।

अरनिको राजमार्गअन्तर्गत बनेपा–१२ साझा पेट्रोल पम्प अगाडि पुगेपछि गाडीभित्रै चालक र सहचालकले जबरजस्ती करणी गरेर फरार रहेको अनुसन्धानबाट खुलेको उनले बताए । बालिकालाई गन्तव्यमा नपु¥याई गाडी लिएर फरार भएका उनीहरुलाई प्रहरीले धुलिखेल नगरपालिका–७ बाट ट्रकसहित नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुलाई प्रदेश–२–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक मोरङबाट बीपी राजमार्ग हुँदै काठमाडौँतर्फ आउँदै गरेको अवस्थामा धुलिखेलचोकबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खतिवडाले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा जबरजस्ती करणीमा पक्राउ परेकाहरुको संलग्नता रहेको खुल्न आएको प्रहरीले बताएको छ। काभ्रे प्रहरीका अनुसार पीडितको परिवारबाट जबरजस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । पीडित बालिकालाई भने आफन्तको जिम्मा लगाइएको छ । रासस