धनगढी – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको बताउनुभएको छ । उहाँले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप लगाउनुभएको छ । पार्टी विभाजनपछि पहिलो पटक धनगढी पुग्नुभएका नेता रावलले धनगढीस्थित कैलालीको पार्टी कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभयो ।

नेकपा एमालेका उपाध्यक्ष रावलले भन्नुभयो, ‘पार्टीको केन्द्रीय उपाध्यक्ष, सुदूरपश्चिमको समन्वय कमिटीको संयोजकको हैसियतले एमालेबाट उछिट्टिएर भ्रममा परेर जानुभएका व्यक्तिहरु र हाल एमालेमै रहेका कमरेडहरुलाई आह्वान गर्न चाहन्छु, विगतको कुरा बिर्सिदिनुस् अब ।’ ‘सबै एकतावद्ध भएर अगाडिको गन्तव्य हेर्नुस् । स्थानीय चुनाव र आम चुनाव हेरौं । स्वदेशी, विदेशी षड्यन्त्रलाई चकनाचुर पार्न एमालेमा फर्किन सकिन्छ ।’

आजै महेन्द्रनगर पुगेर एमालेका अर्का नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इञ्चार्ज आफू नै भएको बताउँदै रावलसँग कुनै मतभेद नरहेको प्रतिक्रिया दिनुभएको थियो । तसर्थ नेता रावलले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको दावी गर्दै अहिले आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा काम गरिरहेको बताउनुभयो ।