काठमाडौं – इजरायल जान इच्छुक युवाहरुले दिएको अङ्ग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । हिजो भएको परीक्षाको नतिजा आजै आएको हो । परीक्षामा २ हजार ३९ जना पास भएका छन् । त्यसमध्ये १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष रहेका छन् । ओएमआर प्रविधिबाट उत्तरपुस्तिका जाँच हुने भएकाले नतिजा छिटो आएको हो ।

परीक्षामा सहभागी हुन ९ हजार ६ सय ९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षाका लागि प्रवेश पत्र बुझेका थिए । त्यसमध्ये परीक्षामा ६ हजार ३ सय १७ जना परीक्षामा सहभागी भएका थिए भने ६ सय ९२ जना अनुपस्थित रहेका थिए । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको थियो ।

अब भाषा परीक्षा पास भएकाहरुको अन्तरवार्ता लिइनेछ । अन्तरवार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिनेछ । छनोट भएकाहरुको सूची इजरायल सरकारलाई पठाइनेछ । इजरायलले सो सूचीबाट कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको छनोट गर्नेछ । छनोट प्रक्रिया सकिएपछि ७ सय महिला र ३ सय पुरुष इजरायल रोजगारको लागि जान पाउनेछन् । त्यसरी जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने छ । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ ।

शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७ सय बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ ।

इजरायलमा श्रमिक लैजाने गरी २०७७ माघ ८ मा समझदारी गरेको थियो । इजरायल जाँदाको भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने हुन्छ । तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था छ ।