काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिनुभएको थियो । अर्थमन्त्रीले विधेयक प्रस्तुत गरेपछि सो बारेमा सैद्धान्तिक छलफलका लागि नाम टिपाउन आग्रह गर्नुभएको थियो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल मात्र सहभागी हुनुभयो । उहाँले अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा बोल्दै सो परियोजना पास गर्न नहुने बताउनुभयो ।

सभामुखले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको छ । साथै सभामुखले असोज ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।