फाइल तस्वीर

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहे बजेटबारे के विकल्प अपनाउने भनेर कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफल गर्नुभएको छ । उहाँले कानून व्यवसायी र संसद सचिवालयका अधिकारीहरुसँग अनौपचारिक छलफल गर्नुभएको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नुभएको छलफलका क्रममा तीन वटा विकल्प देखिएको छ । जसअन्तर्गत
पहिलो विकल्प : नियमित प्रक्रियाबाट विनियोजन विधेयक पास गर्ने


छलफलमा सहभागी एक कानून व्यवसायीका अनुसार यो विकल्पमा जाँदा आज भदौ २९ को बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । छलफल सकेर संशोधनका लागि ७२ घण्टा समय दिनुपर्छ । यसरी जाँदा असोजको ३/४ गते मात्र बजेट पास हुन्छ । केही दिन खर्च रोकिए पनि बजेटको बहस सकिने भएकाले यो विकल्पमा जानुपर्ने राय आएको छ ।
दोस्रो विकल्प :पेश्की बजेट ल्याउने


एमालेका अवरोधका बीच विनियोजन विधेयक अगाडि बढाउने र खर्च चलाउन भदौ ३० मा पेश्की बजेट ल्याउने विकल्प पनि छलफलमा सहभागीहरुले सुझाव दिएका छन् ।
तेस्रो विकल्प : अध्यादेश


छलफलमा सहभागीहरुले बजेट पास गर्न नदिने गरी प्रमुख विपक्षी एमालेले अवरोध गरिरहे संसदको अधिवेशन अन्त्य गर्ने र अध्यादेशबाट बजेट ल्याउने विकल्प पनि छलफलमा आएको छ ।