काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको रक्षा भएमात्र लगानीकर्ताहरूले आफूलाई लगानीका लागि सुरक्षित महसुस गर्ने बताउनुभएको छ । डा. रुद्र शर्मा र सिए युद्ध ओलीद्वारा लिखित पुस्तक ’बौद्धिक सम्पत्ति कानुन, समाज र आर्थिक विकास’ को लोकार्पण कार्यक्रममा बोल्दै ढकालले पहिलेदेखि नै निजी क्षेत्रले बौद्धिक सम्पत्तिको विषय उठाउँदै आएकाले सो पुस्तकले निजी क्षेत्रले उठाएको विषयलाई थप बल पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

कुनै पनि लगानीकर्ताले लगानी गर्दा बौद्धिक सम्पत्ति कानुनको बारेमा जान्नुपर्ने बताउँदै उहाँले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा चाहने र सोका लागि बौद्धिक सम्पत्ति कानुनको महत्व निकै धेरै रहेको समेत बताउनुभयो । उहाँले सो पुस्तकले लगानीकर्ताहरूलाई बौद्धिक सम्पत्तिका बारेमा बुझ्न थप सहयोग पुर्याउने समेत बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुश कुमार जोशीले सो पुस्तकमा पेटेन्ट, कपिराइट, ट्रेडमार्क, डिजाइन, समाज र आर्थिक विकासको परिवर्तन गर्न सक्ने बारेमा विस्तृत रूपमा आएकाले यो पुस्तक धेरै नै उपयोगी रहेको बताउनुभयो । बौद्धिक सम्पत्तिको महत्त्व बुझे यसबाट उचित लाभ लिन सकिने बताउँदै उहाँले निजी क्षेत्र बौद्धिक सम्पत्ति कानुन निर्माणमा समेत लाग्नुपर्ने र यसले लगानीकर्ताको लगानीलाई थप सुरक्षित बनाउन मद्दत पुर्याउनेसमेत बताउनुभएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले बौद्धिक सम्पत्ति क्षेत्रमा सो पुस्तक निकै नै उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । पछिल्लो समय बौद्धिक सम्पत्ति चोरीका उजुरीहरू बढी रहेका बेलामा बौद्धिक सम्पत्ति कानुन बुझाउनका लागि सो पुस्तक निकै नै उपयोगी हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ । बौद्धिक सम्पत्ति कानुनलाई राम्रोसँग केलाइएको सो पुस्तक पुस्तक नेपाली र अङ्ग्रेजी भाषामा रहेकाले सबैले सहज रूपमा बुझ्न सक्ने बताउँदै उहाँले सो पुस्तक बौद्धिक सम्पत्ति कानुन बुझ्न चाहने जो कोहीलाई पनि उपयोगी हुने बताउनुभयो ।

कार्यक्रम बोल्दै न्यायाधीश अनिल कुमार सिन्हाले सो पुस्तक अहिलेको बौद्धिक सम्पत्ति क्षेत्रका लागि आवश्यक भएको बताउनुभयो । अहिले संविधानले बौद्धिक सम्पत्तिलाई सम्पत्तिको रूपमा ग्रहण गरेको स्मरण गर्दै उहाँले बौद्धिक सम्पत्तिसँग सम्बन्धित कानुन बुझ्न चाहने जो कोहीलाई यो पुस्तक निकै नै उपयोगी हुने बताउनुभएको छ ।