काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ संवादमा आउन आह्वान गर्नुभएको छ । आजको संसद अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संवोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताउनुभयो ।

सभामुख सापकोटाले भन्नुभयो– ‘विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु, ‘हामीले सबैले गम्भीर ढङ्गले मनन गरेर संसद सहज ढङ्गले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’ सभामुख सापकोटाले १४ सांसदको कारवाहीसम्बन्धी विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यस विषयमा संसद बैठकमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था रहेको बताउनुभयो ।

सभामुख सापकोटाले संसदलाई मर्यादित रुपमा सञ्चालनका लागि सहयोग गर्न एमालेलाई आग्रह गर्नुभएको छ । तर एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, यथास्थितिमा संसद चल्न सक्दैन, लगायतका नारा लगाइरहेका छन् । करिव २० मिनेट विपक्षी सांसदले नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।