काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षले उठाएका माग पूरा गर्ने प्रक्रिया अगाडि बढाइसकेको भन्दै आन्दोलन फिर्ता लिन अनुरोध गरेको हो ।

मन्त्रालयले प्रतिष्ठानका पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, मन्त्रालयको तर्फबाट गरिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रयास गर्ने जनाएको छ ।

त्यस्तै, प्रतिष्ठानमा भएको भ्रष्टाचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै कागजात लिइसकेको तथा उच्चस्तरीय छानबिन आयोग सिनेट बैठकबाट नै गठन गरिने भन्दै आन्दोलन स्थगित गर्न अनुरोध गरिएको छ । मन्त्रालयले आन्दोलनरत पक्षले उठाएका माग र सम्बोधन भएका ८ बुँदा समेत सार्वजनिक गरेको छ ।