फाइल तस्वीर
काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालयमा बाँडफाँडको तीव्र तयारी गरेका छन् । मन्त्रालय बाँडफाँडमा विषयमा कुरा मिलेमा आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको बताइएको छ । स्रोतका अनुसार, “कुन मन्त्रालय कुन दलले पाउने भन्ने निर्णय अझै भइसकेको छैन, केही मन्त्रालयमा सबै दलको दावी छ । पहिले कुन मन्त्रालय कुन पार्टीले पाउने भन्नेमा सहमति हुनासाथ मन्त्रीको शपथ तत्कालै भइहाल्नेछ ।” आजै बस्ने सत्ता गठबन्धनका र्शीर्ष नेताहरुको बैठकले मन्त्रालयको भागबण्डा मिलान भएमा आजै साँझसम्ममा शपथ हुन सक्नेछ ।

सत्तारुढ दल नेपाली काङ्ग्रेसबाट नारायण खड्का, डा. मीनेन्द्र रिजाल, पुष्पा भुसाल, सुजाता कोइराला, उमाकान्त चौधरीलगायतका नेताको चर्चा रहेको छ । नेकपा (एकीकृत समाजवादी) ले उपसभामुखसहित ७ मन्त्रालयमा अडान राखेको स्रोतले जनाएको छ । स्रोतका अनुसार सत्तारुढ दलको बैठकमा सात मन्त्रालयको विषयमा कुराकानी भए पनि ६ मन्त्रालय दिने तयारी गरिएको बताइएको छ । त्यसमध्ये शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, विरोध खतिवडा, किसान श्रेष्ठ, सरला यादवलगायतको नाम चर्चामा छ ।

माओवादी केन्द्रले मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै मन्त्रीका विषयमा निर्णय गर्ने तयारी गरेको छ । यसअघि बसेको बैठकले मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो । त्यसैगरी जनता समाजवादी पार्टीले पनि मन्त्रालय हेरेर उपेन्द्र यादवको नेतृत्वमा जाने कि राजेन्द्रप्रसाद श्रेष्ठको भन्ने विषयमा निर्णय गर्ने भएको छ ।