काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको उपचारका क्रममा मृत्यु हुन पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ७७ जनामा र ३ हजार ७ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय १७ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज शनिबार १ हजार ३ सय ६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर २७ हजार ३ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो दुई सातादेखि कोरोना भाइरसको सङ्क्रमण दरमा केही कमी आएको मन्त्रालयले जनाएको छ ।

यसैगरी उपत्यकामा आज थप ३ सय ५७ जना कोरोना भाइरसबाट सङ्क्रमति भएका नयाँ बिरामी थपिएका छन् । जसमध्ये काठमाडौंमा २ सय ३० जना, ललितपुरमा ८५ जना र भक्तपुरमा ४२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ९ सय ३६ पुगेको छ ।