ललितपुर— नेकपा एमाले आज बिहान बसेको स्थायी कमिटीको बैठकले विधान अधिवेशनमा ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव गरेको छ । ललितपुरको बालकुमारीस्थित च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान बसेको बैठकबारे जानकारी दिँदै स्थायी कमिटी सदस्य योगेश भट्टराईले केन्द्रीय कमिटी, केन्द्रीय विभाग, निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, पार्टीका जनवर्गीय सङ्गठन, सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रतिनिधिहरू समेत गरेर ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको बताउनु भयो ।

नेता भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै दिउँसो ३ बजे एमालेको विधान अधिवेशनबारे छलफल गर्न पुनः स्थायी कमिटीको बैठक बस्ने जानकारी दिनु भएको छ । बैठक च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा मै बस्ने भएको छ । पत्रकारहरुसँग कुरा गर्दै नेता भट्टराईले ‘विधान अधिवेशनमा प्रतिनिधि को–को हुने भन्ने विषयमा छलफल गरेका छौँ । हाम्रो अघिल्लो विधानले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू स्वतः विधानको प्रतिनिधि हुने व्यवस्था गरेको थियो । तर, नवौँ राष्ट्रिय अधिवेशनपछि पार्टी एकता भयो र प्रतिनिधि परिषद्को निर्वाचन हुन पाएन भन्दै त्यसैले अन्तरिम व्यवस्थामार्फत् विधान महाधिवेशनका प्रतिनिधिहरू निश्चित गर्नुपर्ने भएकाले यस विषयमा छलफल गर्दैछौँ’ भन्नुभयो ।

दिउँसो हुने बैठकमा देशको राजनीतिक र पार्टीको साङ्गठनिक विषयमा पनि छलफल हुने भट्टराईले बताउनु भयो । ‘स्थायी कमिटीले सबै विषयमा छलफल गरेपछि केन्द्रीय कमिटीमा दस्तावजेहरु जान्छ, र केन्द्रीय कमिटीले छलफल गरेपछि विधान महाधिवेशनमा ती दस्तावेजहरू जान्छ,’ नेता भट्टराईले भन्नुभयो ।