फाइल तस्वीर: नेपाल चीन १२ नं. सीमा स्तम्भ

हुम्ला – सरकारले हुम्लाको उत्तरी खण्डमा पर्ने सीमास्तम्भ अध्ययन गर्न गृह मन्त्रालयका सह–सचिव जयप्रसाद आचार्यको संयोजकत्वमा गठित कार्यदलको टोली हुम्ला पुगेको छ । हुम्ला जिल्लाको उत्तरी सीमा क्षेत्रमा चीनले नेपालको केही भाग मिचेरको विषयलाई लिएर सरकारले गृह मन्त्रालयका सह–सचिवको नेतृत्वमा सीमा स्तम्भको स्थलगत अध्ययन गर्न कार्यदल गठन गरेको थियो । दुवै देशको सीमा क्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण गरेर नेपालको भू–भाग मिचेको भन्दै त्यहाँका नेपालीले विरोध गर्दै आएका छन् ।


सीमा अध्ययन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव आचार्यका अनुसार टोली नेपालगञ्जहुँदै आज हुम्लाको सिमकोट पुगेको हो । उक्त कार्यदलले आजै हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलहरु, प्रशासक र नागरिक समाजसँग छलफल गर्ने कार्यक्रम रहेको कार्यदलका संयोजक आचार्यले बताउनुभयो । टोली भदौ २७ गते बिहान लाप्चातर्फ प्रस्तान गर्ने संयोजक आचार्यले जानकारी दिनुभयो ।


केही दिन अघि सरकारले आचार्यको नेतृत्वमा हुम्ला खण्डमा पर्ने सीमा स्तम्भहरुको अध्ययन तीन सदस्यीय टोली गठन गरेको थियो । सरकारले तीन सदस्यीय टोली गठन गरे पनि उहाँको टोलीमा सात जना सदस्यहरु रहेको बताउनुभयो । समितिका सदस्यहरुमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डैगोल, दयानन्द जोशी र कपिल कटवाल रहनुभएको छ । जसमा नापी विभागदेखि अन्य सम्बन्धित क्षेत्रको पनि सहभागिता छ । कार्यदलले नेपाल र चीनबीचका हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भमा पुगेर अध्ययन गर्ने बताइएको छ । दुई देशको सीमा क्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमा स्तम्भ चीनले एकतर्फी पुनःनिर्माण गरेपछि हुम्लामा यसको विरोध हुँदै आएको छ ।