काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज शुक्रबारका लागि पार्टी स्थायी कमिटी बैठक बोलाएको छ । चालु संसद्को बैठकमा पार्टीले खेल्नु पर्ने भूमिकोबारे विस्तृत छलफल गर्नका लागि आज अपराह्न ४ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।


एमालेले २३ गते बुधबारदेखि सुरुभएको संसदको बैठकमा अवरोध खडागर्दै आएको छ । एमालेले कारवाही गरी पार्टी र सांसद पदबाट निस्काशन गरेको आफ्ना सांसदहरुलाई सभामुखले बचाउ गरेको भन्दै संसद अवरुद्ध गरेको थियो ।


ललितपुरको बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठान च्यासलमा आज बस्ने स्थायी कमिटीको बैठकमा आगामी विधान महाधिवेशन, संसदमा प्रस्तुत हुने विधेयकका साथै हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीमा उपाध्यक्षसहितको टोलीले गरेको छलफलका बारेमा पनि केही छलफल हुनसक्ने स्रोतको भनाइ छ ।