फाइल तस्वीर

काठमाडौं– अमेरिकी सहयोग परियोजनाको नाम दिइएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले आज शुक्रबार दिउँसो १ बजे सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम तय भएको छ । हिजो कतार एयरलाइन्सको विमानबाट नेपाल आएको उक्त टोलीले एमाले अध्यक्ष केपी ओली र एमालेबाट अलग भै नेकपा एकीकृत समाजवादी नामक नयाँ पार्टी गठन गरेका उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर एमसीसी परियोजनाको बारेमा विस्तृत छलफल गरेको थियो ।

उक्त टोलीले हिजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री तथा सोही पार्टीका नेता डा. बाबुराम भट्टराईलाई समेत हिजै साँझ भेटिसकेका छन् । पूर्वप्रधानमन्त्री डा. भट्टराईले सबै दलका शीर्ष नेताहरुबीच छलफल गरेर एमसीसीको बारेमा एउटा निष्कर्षमा पुग्ने जानकारी गराएका छन् ।

एमसीसी सम्झौता भएको चार वर्षपछि माथिल्लो तहको भ्रमण भएको यो पहिलो पटक हो । एमसीसी परियोजनालाई जसरी पनि संसदबाट पास गराउन उपाध्यय फातिमा सुमार नेपाल आएर पार्टीका शीर्ष नेताहरुको निवासमा पुगेर भेट्दै कूटनीतिक रुपमा दवाव दिन थालेको विश्लेषण गर्न थालिएको छ ।

सन् २०१७ सेप्टम्बर १४ तारिखमा अज्ञमेरिका पुगेर तात्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीे एमसीसी परियोजना सम्बन्धमा सम्झौता गरेका थिए । ठूलो आर्थिक प्रलोभनमा परेर देशलाई दूरगामी अहित हुनेगरी उक्त सम्झौता भएको भन्दै यसलाई कार्यान्वयनमा ल्याउन नहुने भन्दै ठूला राजनीतिक दलभित्रै विवाद भैरहेको छ ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री भएको समयमा भएको उक्त सम्झौता पुनः देउवा प्रधानमन्त्री भएकै बेला संसदबाट पास गराउने प्रयत्न भैरहेको छ । राजनीतिक दलहरु आन्तरिक विवादमा जकडिएको बेला अमेरिकाले पार्टीका शीर्ष नेतृत्वलाई दवाव दिएर नेपालको संसदबाट एमसीसी पास गराउन खोजिंदैछ भन्ने जनमानसमा परिसकेको छ ।

राष्ट्रहित विपरित भएको एमसीसीलाई संसदबाटै पास गराउन काङ्ग्रेस सभापति एवंम प्रधानमन्त्री देउवा यसपटक जसरी पनि संसदबाट एमसीसीलाई अनुमोदन गराउने रणनीतिमा छन् । तर नेकपा माओवादी केन्द्र र नेकपा एस भने केही बुँदाहरु परिमार्जन गरेर पास गराउने मनस्थितिमा रहेको भनाइ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि बताउँदै आएका छन् । यथास्थितिमा एमसीसीलाई संसदले अनुमोदन गर्न नहुने उनको भनाइ थियो ।

हिजो सत्ताको बागडोर हातमा लिएरका एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत जसरी पछि संसदबाट एमसीसी पास गर्नु पर्नेमा जोड दिंदै आएका थिए । एमसीसी परियोजनाका विषयमा अहिले बाहिर जे जति विरोधका आवाजहरु उठिरहेका छन् त्यो सम्झौता सार्वजनिक भएपछि सबैले केही न केही रुपमा अध्ययन गरेर र बुझेर नै भएको हो ।

यसैबीच लामोसमयदेखि सदन र सडकसम्म एमसीसी राष्ट्रघाती, स्वाधिनता विपरित र देशलाई अस्थिर बनाउने भन्दै विरोध गर्दै आएका एमाले उपाध्यक्ष भीम रावलले ‘ पार्टीका नेताहरुको घरघरमा पुगेर एमसिसी पारित गर्न दबाब दिनु स्वाधिनता विपरीतको कार्य भएको’ भनेको छन् । नेता रावलले ‘संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दबाब दिने, सरकार परिवर्तन हुन लाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घरघर पुगेर दबाब दिने, कस्तो विडम्बना हो ? भनेका छन् ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाका पदाधिकारीले एमाले अध्यक्ष ओलीपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई हिजै भेटेका छन् भने आज शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत अन्य दलका शीर्ष नेताहरुसँग पनि भेटघाट गरेर एमसीसी संसदबाट पास गराउन दवाव दिन सुरु भएको छ । गत वर्ष असार १६ गतेभित्रै संसदबाट अनुमोदन भइसक्नुपर्ने एमसिसी नेपालको आन्तरिक राजनीतिक किचलोको कारण पास हुन नसकेपछि सुमार नेतृत्वको टोली नेपाल पारित गराउन नेपाल आएको हो ।

एमसीसी परियोजनाले पाँच वर्षभित्र नेपालको विद्युत् प्रशारण लाइन र रणनीकि महत्वका सडक मर्मत र विस्तार गर्न ५५ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भनिदै आएको छ । अनुदान लिन अमेरिकाको शर्त पालना गर्नु पर्ने र नेपालको संसदबाट अनुमोदन गराउनु पर्ने लगायतका राष्ट्रहित विपरितका कुराहरु सम्झौतामा उल्लेख छन् । पार्टीका नेताहरुले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रतालाई भन्दा व्यक्तिगत स्वार्थका लागि राष्ट्रलाई नै बन्धक बनाउने काम गर्नु खोजेको आरोप आम नेपालीले लगाएका छन् ।