काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेकाले आफ्नो दलले विरोध गर्नुपरेको बताउनुभएको छ । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उहाँले दलले ह्विप जारी गरेर निष्काशन गरेका एमालेका सांसदहरूलाई कारबाहीको सूचना जारी नगरेर सभामुखले आफ्नो दललाई फुटाउन सघाएको आरोप लगाउनुभएको हो ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले भन्नुभयो–“सभामुखले निष्पक्ष खालको व्यवहार नगरेको हाम्रो टिप्पणी छ । एउटै केसका विभिन्न दलहरूलाई विभिन्न ढङ्गले ट्रिट गर्नुभएको छ । संसदीय व्यवस्थामा पार्टीनै प्रदान हुन्छ । पार्टीका सांसदहरूलाई पार्टीको अनुशासन हुन्छ । त्यो अनुशासन उल्लङ्घन भयो भने, ह्विप उल्लङ्घन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।”