काठमाडौं – कोभिड–१९ का कारण स्थगित भएको १२ औँ श्रृङ्खलाको राष्ट्रिय जनगणना आगामी कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ । केन्द्रिय तथ्याङ्क विभागले आज बुधबार गरेको पत्रकार सम्मेलनमा महानिर्देशक नेविनलाल श्रेष्ठले जनगणनाका लागि ३९ हजार गणक र साढे ८ हजार जना सुपरीवेक्षक रहने बताउनुभयो ।

७० लाख घरपरिवार र ३ करोड जनसंख्याको गणना हुने अनुमान गरिएको पनि उहाँले बताउनुभएको छ । जनगणना कार्यका लागि सातै वटा प्रदेश कार्यालय र सबै जिल्लामा गरी ८० वटा जिल्ला जनगणना कार्यालय सञ्चालनमा ल्याइसकिएको छ । जनगणना कार्यमा खटिने सबै गणक एवम् सुपरीवेक्षकहरूलाई कोरोनाविरुद्धको खोप लगाइने राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले बताउनुभयो ।

यस पटकको जनगणनामा ८० वटा प्रश्नावली समेटिएको छ । यसअघिका जनगणनामा नसमेटिएका १२ वटा प्रश्नावली यसपटक थपिएको महादिर्नेशक श्रेष्ठले बताउनुभयो । थपिएको प्रश्नावलीमा घरको प्रयोजन, हरेक परिवारमा बैंक खाता भए वा नभएको ? बैंक तथा वित्तीय संस्थाबाट ऋण लिए वा नलिएकोलगायतका रहेको श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय जनगणना कात्तिक २५ देखि सुरु गरेर मङ्सीर ९ गते सम्पन्न हुने विभागले जनाएको छ ।