काठमाडौं – राजनीतिक दलसम्बन्धी अध्यादेश–२०७८ संसदमा पेश भएको छ । आज बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले संसदको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७८ पेश गर्नुभएको हो । अध्यादेश संसदमा पेस हुँदा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरिरहेका थिए । गृहमन्त्री खाँणलाई अध्यादेश पेस गर्न एमाले सांसदहरूले अवरोध गर्न खोजेका थिए तर, मर्यादापालकको सहयोगमा गृहमन्त्री खाँणले अवरोधलाई छिचोल्दै राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्नुभएको हो ।

अध्यादेश पेश भएपछि सभामुख सापकोटाले संसद बैठक आगामी शुक्रबार अर्थात् भदौ २५गते दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभएको छ । यसअघि बसेको पहिलो र दोस्रो बैठकमा पनि एमालेले अवरोध गरेको थियो । सभामुख सापकोटाले आफ्नो दल विभाजनको मतियार बनेको भन्दै एमालेले बैठकमा चर्को नाराबाजी गरेको थियो । एमालेकै अवरोधपछि पहिलो र दोस्रो बैठक १५–१५ मिनेटका लागि स्थगित भएका थिए । प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा एमालेले सभामुख सापकोटाले एमाले फुटाउन सहयोगी भूमिका खेलेको भन्दै बैठक अवरुद्ध गरेको थियो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउँदा सभामुखले कारबाही गरेको सूचना सभामुखले नटाँसेर विभाजनको मतियार बनेको आरोप लगाउनुभएको थियो ।

उहाँले संविधान, नियम, नीति, विधि उल्लङ्घन गरेर नेकपा एमालेलाई विभाजन गरिएको भन्दै सभामुखसँग जवाफ माग गरेका थिए । लगत्तै सभामुख सापकोटाले जवाफ दिँदै आफूले प्रचलित कानुनका आधारमा निर्णय लिएको जवाफ दिनुभएको थियो । सभामुख सापकोटाले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै संसदमा छलफल गर्न नमिल्ने पनि बताउनुभयो । त्यसपछि एमालेका सांसदहरूले बेलमा घेरेर संसदको ‘संर्वोच्चता कायम गर, संविधान विरोधी काम गर्न पाइँदैन, विधिको शासन कायम गर’ लगायतका नाराबाजी गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को खण्ड ‘ख’ र ‘ग’ को ध्यानाकर्षण गराउनुभएको थियो ।