काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । यसबीचमा सभामुख अग्नि सापकोटाले सहमति जुटाएर प्रतिनिधिसभा बैठक सहज ढङ्गले सञ्चालनको प्रयास गर्ने बताउनुभएको छ । एमालेले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै आज बुधबार दुई पटकसम्म संसद अवरुद्ध पारेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी समेत गरेका थिए । एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख सापकोटाले संसदको नियम २१ को खण्ड ‘ख’ र ‘ग’ को अध्ययन गर्न ध्यानाकर्षण गराउनुभएको थियो । तर एमाले सांसदले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो ।

बैठक स्थगित गरेर सभामुखले संसदको गतिरोध हटाउने विषयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरेपछि सहमति जुटेन भने दोस्रो पटकको बैठकमा पनि अवरोध जारी रह्यो । त्यसपछि पुनः १५ मिनेटको लागि स्थगित भएको बैठक बस्दै नबसी शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्ने निर्णय लिइएको हो । दल विभाजनसम्बन्धी अध्यादेश पेश भएपछि आजको प्रतिनिधि सभा बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक आगामी शुक्रबार दिउँसो २ बजे बस्ने छ ।