काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संविधान, कानुनको बर्खिलाप आफूले कुनै काम नगरेको प्रस्ट पार्नुभएको छ । आज प्रतिनिधिसभाको दोस्रो बैठक आरम्भ भएलगत्तै नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख सापकोटाले आफू संविधान, ऐन, कानुनअनुसार अघि बढ्न प्रतिवद्ध रहेको बताउनुभएको हो ।

उहाँले एमाले सांसदहरुलाई आग्रह गर्दै भन्नुभयो, ‘मैले संविधान, नियम कानुनको बर्खिलाप केही गरेको छैन, त्यसकारण सदन सञ्चालन गर्न दिनुस् ।’ यद्यपि, एमालेका सांसदहरुले ‘संसदको मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर,’ लगायतका नारा लगाएर अवरोध पुर्याएका छन् ।

यसअघि बुधबार नै बसेको पहिलो बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध तुल्याएका थिए । पहिलो बैठक अवरुद्ध भएपछि १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएका सभामुख सापकोटाले यस बीचमा एमालेका प्रमुख सचेतक तथा सचेतकसँग छलफलसमेत गर्नुभएको थियो ।