नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । संसदको नवौँ अधिवेशन आजबाट सुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आजका लागि आह्वान गरेको संसदको अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको पत्र पढेर सुनाउनुभएपछि बैठकको सुरुवात गरेसँगै एमालेले संसद्को बैठक अबरुद्ध पारेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुखविरुद्ध नाराबाजी गरेका छन् । एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख अग्नि सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराउनुभएको थियो । तर एमाले सांसदले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको छ ।