काठमाडौं – आज बस्ने प्रतिनिधिसभाको बैठकमा पत्रकारहरूलाई प्रवेश निषेध गरिएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको सङ्घीय संसद सचिवालयले जनाएको हो ।

सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेका अनुसार संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने बताउनुभएको छ । पत्रकार कक्षमा लाईभ स्ट्रिमिङ गर्नका लागि मात्र केही व्यक्तिलाई प्रवेश गराइने उहाँको भनाइ छ ।

आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ । संसद सचिवालयले युट्युव मार्फत संसद बैठकको प्रत्यक्ष प्रशारण गर्दै आएको छ । यसअघि भने संसद भवनको मिडिया सेन्टरमा भौतिक रूपमा उपस्थिति भएर पत्रकारहरूले रिपोर्टिङ गर्दै आएका थिए । संसदको मिडिया सेन्टरसम्म पत्रकारको पहुँचको लागि संसदीय मामिला पत्रकार समाजले सङ्घीय संसद सचिवालयलाई ध्यानाकर्षण गराउँदै आएको छ ।