काठमाडौं – नेपाल पत्रकार महासङ्घले गृह मन्त्रालयले अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी जारी गरेको दुईवटा विज्ञप्ति सच्याउन माग गरेको छ । भदौ १८ गते र २० गते मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रेसको संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउने तथा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत रहेको भन्दै महासङ्घले दुईवटा विज्ञप्ति सच्याउन आग्रह गरेको हो ।

गृह मन्त्रालयले भदौ १८ मा जारी गरेको विज्ञप्तिमा मित्रराष्ट्रका सहयोगमा सञ्चालित परियोजना र त्यसमा काम गर्ने कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्ति लक्षित गरी नकारात्मक टिप्पणी गर्न र धम्कीपूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको थियो । त्यस्तै भदौ २० मा भने छिमेकी देशका प्रधानमन्त्री मोदीविरुद्ध भएको विरोध प्रदर्शनप्रति आपत्ति जनाइएको थियो । महासङ्घले मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको निष्कर्ष निकालेको छ ।

महासचिव रोसन पुरीले आज एक विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर छ ।’महासङ्घले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ ।