काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना पास नहुने घोषणा गर्नुभएको छ । पार्टीको सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसिसीबारे अमेरिकालाई पठाएको कूटनीतिक पत्रको जवाफ नआएकाले एमसिसी पारित नहुने घोषणा गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले बैठकमा भन्नुभयो, ‘हामीले पठाएको कूटनीतिक नोटको जवाफ नआएपछि एमसिसी पास हुने कुरा हुँदैन ।’ ‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।’

प्रचण्डले माओवादी केन्द्र पनि संसद्वादमा फस्दै गएको भन्दै संसदवाद्ले राम्रो नगरेको बताउनुभएको छ । उहाँले वाईसीएललाई संसद्वादमा नफस्न निर्देशन दिँदै एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न समेत आग्रह गर्नुभएको छ ।