काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ७२ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७२ हजार १ सय ८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८५ हजार ७ सय १३ जना पुगेको छ । सङ्क्रमितमध्ये ७ लाख ३१ हजार निको भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाबाट निधन भएको छ । हालसम्म मृतकको कुल संख्या १० हजार ८ सय ७९ पुगेको छ । हाल देशभर ३० हजार ३ सय ३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये १ सय ५४ जना भेन्टिलेटरमा रहेका छन् भने ५ सय १४ जना आईसीयूमा उपचाररत रहेका छन् ।