काठमाडौं – पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाइमा आज पनि पेसी चढेको छ । ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै रिट दायर गर्नुभएको थियो । त्यस्तै एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको अध्यक्ष ओलीको आरोप रहेको छ ।

अध्यक्ष ओलीले दायर गरेको रिटमा सभामुख अग्नि सापकोटालाई पनि विपक्षी बनाइएको छ । सभामुख सापकोटाले ह्वीप उल्लङ्घनमा पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्तको सूचना टाँस नगरेको आरोप छ । निर्वाचन आयोग र सभामुखविरुद्धको सो मुद्दाको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलास तोकिएको छ ।