फाइल तस्वीर
काठमाडौं – सत्तारुड दल नेपाली काङ्ग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको आरोप लगाउनु भएको छ । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकद्वारा आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अङा्कुश लगाउन नमिल्ने भन्दै यसले नागरिकस्तरबाटै सरकारप्रति आलोचना सुरु भएकोे धारणा व्यक्त गर्नुभएको छ । यस तर्फ सरकारलाई गम्भीर हुन समेत आग्रह गर्नुभएको छ ।

अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाली काङ्ग्रेसले यस्ता विषयमा निर्णय गर्दा गम्भीर रुपमा सोचेर मात्रै निर्णय लिनुपर्ने बताउनु भएको छ । ‘सरकार जनताको पक्षमा रहेर जनताको दुःखमा साथ दिनु पर्छभन्दै नेता सिंहले ‘गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक भएको टिप्पणी गर्नुभएको छ ।

विद्यार्थी सङ्गठन र सर्वसाधारण नागरिकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको विषयलाई लिएर हिजो आइतबार गृह मन्त्रालयले विज्ञप्ति निकालेर उश्रृङ्खल गतिविधि गरेमा कारवाही गरिने चेतावनी दिएको थियो । गृहको उक्त विज्ञप्तिप्रति असन्तुष्टि प्रकट गर्दै नेता सिंहले सरकार सच्चिनु पर्ने बताउनु भएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि नै मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक भएको नेता सिंहको टिप्पणी छ ।