काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरे जुनसुकै बेला पनि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ । आज डा. केसीले विज्ञप्ति जारी गर्दै सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न नसकेका कारण आफूले कुनै पनि बेला सत्याग्रह सुरु गर्ने बताउनुभएको हो ।

स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायत आफूसँग गरिएका समझदारीका बुँदाहरु तत्काल कार्यान्वयन नगरी सरकार लाचारी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ,‘स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका समझदारीका बुँदाहरु तत्काल कार्यान्वयन गर्न काम गर्दछौँ । यी मागहरु पूरा नगरी सरकारले अहिलेकै निष्क्रियता, लाचारी र अनियमितता कायम राखेमा कुनै पनि बेला सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउन चाहन्छौँ ।’

यस्तै डा. केसीले बीपी प्रतिष्ठानको आन्दोलनको पहिलो चरण टुङ्ग्याउने बेला भएको सहमति कार्यान्वयन नगरिएको समेत उल्लेख गर्नुभएको छ । ‘साथै बीपी प्रतिष्ठानको आन्दोलनको पहिलो चरण टुङ्ग्याउने बेला भएको सहमति तथा हामीसँग प्रधानमन्त्रीले गरेका स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने र पदाधिकारी नियुक्तिका नयाँ मापदण्ड बनाउने लगायतका पाँच बुँदे समझदारी तत्काल कार्यान्वयन गर्न तथा विभिन्न स्वार्थ समूहहरुको तर्फबाट चिकित्सा शिक्षा आयोगलाई नाजायज दबाब नदिन समेत सरकारको ध्यानाकर्षण गराउछौँ’, विज्ञप्ति मार्फत उहाँले भन्नुभएको छ ।

डा. केसीले सरकारले मेडिकल शिक्षा क्षेत्रमा समस्या समाधान गर्ने भन्दा पनि झनै बल्झाउने काम गरिरहेको बताउनुभएको छ । ‘माफियाहरुको स्वार्थमा बारम्बार चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई दवाब दिएर आयोगको आकस्मिक बैठक बोलाउने प्रयास गरिएको छ । स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका स्वास्थ्य राज्यमन्त्रीलाई अहिलेसम्म पदबाट हटाइएको छैन ।

यसबाट सरकार मेडिकल शिक्षा क्षेत्रका समस्या समाधान गर्नेभन्दा पनि झनै बल्झाउने दिशामा गएको देखिन्छ’, डा.केसीले भन्नुभएको छ । ‘मेडिकल कलेज खरिदबिक्रीका क्रममा भएका करार उल्लङ्घन लगायतका अन्य खालका अनियमितताहरु र त्यसका कारण राज्यलाई पर्न गएको क्षतिबारे पनि बारम्बार मिडियामा समाचारहरु आएका छन् । २०८५ सालपछि कानुनतः मेडिकल कलेजहरु गैर नाफामूलक हुनुपर्ने व्यवस्था रहेकोमा त्यसको कार्यान्वयन तयारी गर्नुको बदला सत्तारुढ दलका नेताहरु तथा तिनका परिवारका सदस्यले अर्बौंको कालो धन मेडिकल शिक्षामा खन्याइरहेको देखिन्छ ।’