काठमाडौं – सेयर धितो कर्जाको सिमाको विरोध गर्दै लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकसँग गभर्नरको राजिनामासहित माग गरेका छन् । उनीहरूले गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका हुन् । पुँजीबजार सुधार सङ्घर्ष समितिका संयोजक रामकृष्ण ढकालले एक विज्ञप्ती जारी गर्दै १८ बुँदे मागसहित सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको छ । सङ्घर्षका कार्यक्रम अन्तर्गत आज सोमबार बृहत प्रदर्शन सहित राष्ट्र बैंक घेराउ गर्ने, मागहरु सम्बोधन नभए भदौ २३ गतेदेखि २९ गतेसम्म दैनिकरुपमा दिउसो ३ बजे देखि ५ बजेसम्म रिले अनसन गर्ने र यति गर्दासमेत आफ्ना मागहरु सम्बोधन नभए आमरण अनसन सम्म गर्ने कार्यक्रम रहेको सङ्घर्ष समितिका सह–संयोजक रोहन कार्कीले जानकारी दिनुभएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको छ । यो सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ऋण चुक्ता गर्दा सेयर बजारमा त्यसको असर देखिएको छ । उनीहरूले नै नेपाल राष्ट्र बैंकसँग १८ बुँदे माग पेश गर्ने भएका हुन् । राष्ट्र बैंकसहित नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई सम्बोधन गरी विज्ञप्ति प्रकाशन गरिएको छ ।

यसअघि पनि नेपाल इन्भेष्टर्स फोरमका लगानीकर्ताहरू सेयर धितो कर्जाको सिमा खारेजीको माग गर्दै अर्थ मन्त्रालय पुगेका थिए । उनीहरूले राष्ट्र बैंकको नीतिका कारण सेयर बजारमा पर्न सक्ने दीर्घकालिन असरबाट सेयर बजारलाई जोगाउन र सम्पूर्ण लगानीकर्ताहरूलाई लगानीको वातावरण बनाउन सेयर धितो कर्जाको तत्काल खारेजीको माग गरेका थिए ।