काठमाडौं – बैंक व्यवस्थापनले नै नियमावली विपरीत कार्य गरेको भन्दै राष्ट्रिय वाणिज्य बैक नेपाल वित्तीय संस्था कर्मचारी सङ्घसँग आवद्ध कर्मचारी आन्दोलनमा उत्रिएका छन् । सरुवा, बढुवा जस्ता कार्य कर्मचारी विनीयमावली अनुसार हुनुपर्ने, बैंकमा आन्तरिक नियन्त्रण प्रणाली र सुशासनलाई बलियो बनाउनुपर्ने लगायतका १५ बुँदे माग राख्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

बैंक व्यवस्थापनले विनीयमावली अनुसार कर्मचारीको सरुवा बढुवा भन्दा पनि नातावाद र पहुँचमा बैंक व्यस्थापन चलेको भन्दै व्यवस्थापनमा देखापरेको त्रुटि र कमजोरीे तत्काल सञ्चाउन कर्मचारीहरूले माग गरेका छन् । हिजो आइतबार ध्यानाकर्षण पत्र जारी गर्दै सङ्घले बैंकमा नाङ्गो राजनीति नगर्न चेतावनी समेत दिएको छ ।

ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ –‘कर्मचारी सेवा विनीयमावलीको विपरीत हुने गरी कैयौँ कार्य गरिएको छ र यो बैंक व्यवस्थापनले गरेको नीतिगत भ्रष्टाचार हो ।’ मानव व्यवस्थापन प्रणालीलाई ध्वस्त पार्नेगरी कार्य गरिएको र राजनीतिकरण बढ्दै गएकोले बैंकको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको पनि पत्रमा उल्लेख छ ।

बैकले गरेका पछिल्ला सरुवाहरूमा कर्मचारी सेवा विनीयमावली, शाखा वर्गीकरण तथा भौगोलिक विभाजन बमोजिम नगरी प्रष्ट रुपमा राजनीतिक विभेद गरिएको कर्मचारीहरूको आरोप छ । अव्यवस्थित एवं मनोमानी रुपमा काजको नाममा कर्मचारीलाई राखिएको र उनीहरुको उचित व्यवस्थापनमा चासो नदेखाएको भन्दै यसको विरोधमा कर्मचारीहरु उत्रिएका हुन् । बैंक भित्रको आन्तरिक नियन्त्रण प्रणाली र सुशासनलाई अत्यन्त तल्लो स्तरमा झारिएको भन्दै चिन्ता पनि व्यक्त गरिएको छ ।

कर्मचारीको व्यवस्थापन गर्ने मानव संसाधन विभागले कर्मचारीहरूको भन्दा राजनीतिक दल र तिनका नेता कार्यकर्ताको कुरा सुन्ने गरेका कारण पनि अधिकांश कर्मचारीहरु रुष्ट बनेका छन् । नीति, प्रक्रिया, विधि र पद्धति भन्दा पहुँचमै हुने निर्णयको विरोधमा आफहरू उत्रेको उनीहरूले बताएका छन् ।