हेटौंडा – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशमा हालसम्म पनि राजनीतिक अस्थिरता कायम रहेको बताउनुभएको छ । आज आइतबार जिल्ला समन्वय समिति मकवानपुरको समीक्षा बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले देशमा भएको विभिन्न चरणको जनक्रान्तिले व्यवस्था परिवर्तन गरेता पनि राजनीतिक अवस्था र अस्थिरतालाई परिवर्तन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान अवस्थामा राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझ्न नसकेकाले दैनिक रुपमा सरकार परिवर्तनको खेल भइरहेको बताउनुभएको छ । जननिर्वाचित बहुमतको सरकारलाई पनि राजनीतिज्ञहरुले स्वार्थ पूर्तिका लागि प्रयोग गर्दा देशमा अस्थिरता कायम रहेको उहाँको भनाइ छ । व्यवस्था परिवर्तनसँगै नयाँ अभ्यास गरिरहेको प्रदेश र स्थानीय तहहरु र सङ्घीय सरकारले सही नेतृत्व र दिशा दिन नसकेको उहाँले भनाई छ । राजनीतिक अस्थिरतालाई हटाउन तीनै तहका सरकारले संविधानको व्यवस्था अनुसार जनताको बलिदानबाट प्राप्त व्यवस्थालाई जोगाउनु पर्ने मुख्यमन्त्री शाक्यले बताउनुभयो ।

उहाँले सङ्घीयतापछि निर्माण भएका तीन तहका सरकारको बीच समन्वयको अभाव भएको उल्लेख गर्नुभएको छ । संविधानमा नै तीन तहका सरकारको अधिकार तोकिएको भए पनि सो लागू हुन नसक्दा जनभावना अनुकुलका काम र स्थायित्व हुन नसकेको उहाँको गुनासो छ । तिनै तहका सरकार बीच समन्वय नहुँदा लक्ष्य अनुसारको विकास निर्माणको कामले गति दिन नसकेको उहाँले बताउनुभयो । मुख्यमन्त्री शाक्यले तीनै तहको सरकारले भौतिक पूर्वाधारलाई नै विकास ठानेर वार्षिक बजेटलाई त्यसतर्फ केन्द्रीत गर्न नहुने बताउँदै सबै क्षेत्रको समान विकास र विस्तार हुनुपर्ने भन्दै बजेटलाई सही तरिकाले क्षेत्रगत रुपमा विनियोजन गर्नुपर्ने बताउनुभयो ।