काठमाडौं – सत्तापक्ष दल नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ । पेशी आज आइतबारका लागि तोकिएको हो । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया गत शुक्रबारदेखि सुरु भएको छ ।

यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) खारेजीको माग गर्दै दायर गरेका तीन रिटको पेशी पनि प्रधानन्यायाधीश राणाकै एकल इजलासमा तोकिएको छ ।

नेपाली काङ्ग्रेसले आगामी मङ्सिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भएता पनि गत शुक्रबार अर्थात् भदौ १८देखि वडा तहबाट अधिवेशन सुरु भएको हो । काङ्ग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।

वैद्यले कोरोना महामारीका समयमा २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारको निर्देशन विपरीत अधिवेशन हुन लागेकाले रोक्नु पर्ने माग गर्नुभएको छ । उहाँले महामारीका बेला महाधिवेशन गर्दा लाखौँको स्वास्थ्य जोखिममा पर्ने जिकिर गर्दै महाधिवेशन रोक्न रिट दायर गर्नुभएको हो ।