काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८ का अवसरमा प्रकाशन गरिएको कर्मचारी पत्रिकाको शनिबार विमोचन गर्दै देउवाले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापतिसमेत रहनुभएका देउवाले सरकार निजामती कर्मचारीका हकहित र सुरक्षामा संवेदनशील रहेको बताउनुभयो । मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले इमान्दारिता र निष्पक्षतापूर्वक सेवाग्राहीमैत्री भएर नागरिकलाई सेवा दिनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले सो कार्यका लागि सम्पूर्ण निजामती कर्मचारीलाई आह्वान गर्नुभएको छ ।

उहाँले कानुनले दिएका अधिकारभित्र रहेर नियमसम्मत तरिकाले जनतालाई सेवा प्रदान गर्ने कार्यमा निजामती कर्मचारी युनियनले आफ्नो सङ्गठनात्मक शक्ति र सहयोग प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा देउवाले निवर्तमान सचिव गोपीनाथ मैनालीलाई दोसल्ला ओढाएर प्रमाणपत्रका साथ सम्मान गर्नुभएको थियो । कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले निजामती कर्मचारीले जनतालाई दिने प्रभावकारी एवं चुस्त सेवासँग सरकारको सफलता गाँसिएको बताउँदै त्यसतर्फ इमान्दारितापूर्वक लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रह गर्नुभयो ।