काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र सङ्घीयता तत्काल खारेज हुनुपर्ने बताउनुभएको छ । मकवानपुर क्षेत्र नम्बर दुई प्रदेश (ख) पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको उल्लेख गर्नुभयो । उहाँले शासन जनताको छोराछोरीले गरेता पनि अभिभावकको रुपमा राजसंस्था राख्नुपर्ने बताउनुभएको छ । मुलुकमा ब्रम्हलुटको अवस्थाबारे महालेखा परीक्षकको प्रतिवेदनले कहालीलाग्दो तस्वीर देखाएको चर्चा गर्दै अध्यक्ष थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने बताउनुभएको छ ।

राजनीतिलाई भ्रष्टाचारतर्फ उन्मुख गराउने निर्वाचन प्रणालीले नेता, भ्रष्टाचारी, माफिया, कर्मचारी र बिचौलियाको गठबन्धन झन् बलियो बनाउनेतर्फ सजग हुनुपर्ने थापाको भनाइ छ । करोडौं खर्च गरेर चुनाव जित्नेहरूको ध्याउन्न कमाउनेतर्फ केन्द्रित हुने भन्दै थापाले राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने बताउनुभयो ।

फरक प्रशङ्गमा दार्चुलाका जयसिंह धामीलाई न्याय दिने बिषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको बताउनुभयो । राप्रपा कार्यसम्पादन समिती सदस्य राजाराम बर्तौलाले सिद्धान्त ,नीति बिचार कमजोर बनाउने षडयन्त्रप्रति कार्यकर्ता चनाखो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भ्रमलाई चिरेर पार्टी र विचार स्थापना गर्ने अभियानमा सक्रियतापूर्वक क्रियाशील हुन आग्रह गर्नुभएको छ ।