काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो दलका नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । केही दिन अघि बसेको स्थायी कमिटी बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । त्यसैगरी उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज पनि तोकेको छ । पार्टीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ । केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश हमाल,राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्त राई र जीवनराम श्रेष्ठ रहनुभएको छ ।्

त्यस्तै प्रदेश इन्चार्जहरुमा प्रदेश एकको इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ दुईमा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला तोकिएका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज भने तोक्न बाँकी रहेको स्थायी समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिनुभयो । नेकपा एकीकृत समाजवादी पार्टीले उपत्यका विशेष प्रदेश कमिटीमा विश्वनाथ प्याकुरेल,सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ,मोर्चा इन्चार्ज डा. विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साह तोकेको छ ।

गत भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता प्राप्त नेकपा एकीकृत समाजवादी पार्टीको २ पटक बसेको स्थायी कमिटी बैठकले उक्त निर्णयहरू गरेको नेता भुसालले बताउनुभयो । उहाँका अनुसार आज आइतबार केन्द्रीय सचिवालयको पहिलो बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेकपा एकीकृत समाजवादी पार्टीले दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ । सदस्यहरुमा क्रमशः डा. बेदुराम भुसाल,प्रमेश हमाल,राजेन्द्र पाण्डे,गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला,जगन्नथ खतिवडा, केशवलाल श्रेष्ठ,सावित्रा भुसाल,रामकुमारी झाँक्री, राजेन्द्र राई, गणेश विकको नाम रहेको छ । मस्यौदा समितिले छिटै आयोजना हुने राष्ट्रिय सम्मेलनमा पेस हुने दस्तावेजहरुको मस्यौदा तयार गर्नेछ ।