काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ । एमाले उपाध्यक्ष गौतमले आज पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएको उहाँका स्वकीय सचिवले बताउनुभएको हो । गौतमले एमाले अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताउनुभएको छ ।

उहाँले, ’तपाईं नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित कार्यदिशालाई कहिल्यै पनि अवलम्बन गर्नुभएन । नेपालको संविधान २०७२ जारी भएपछि पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको साझा घोषणापत्रलाई तपाई प्रधानमन्त्री भएपछि आफ्नो कार्यकाल भरी त्यसलाई लागु गर्नुभएन । तपाईंले गर्नुभएका कतिपय कामहरूलाई पटक पटक सर्वोच्चका संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन ।’ भनी ओलीप्रति असन्तुष्टि जनाउँदै कटाक्ष गर्नुभएको छ ।