हतियार चोरी प्रकरणमा दोषी ठहरिएर जेल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहरिएका छन् । सैनिक ब्यारेकबाटै एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको अभियोगमा पक्राउ परेका दुई सैनिक शुक्रबार रिहा भएका हुन् । उनीहरू सैनिक विशेष अदालतबाट आज शुक्रबारको फैसलामा निर्दोष ठहरिएका हुन् । सेनाले हतियार चोरीको मुख्य योजनाकार भनेर अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरूङ र सरोज तामाङलाई कोट मार्सल गरेको थियो ।

सेनाकै गंगाधर ढकालले सहकर्मी भरत गुरूङको साउन ७ गते चितवनमा हत्या गरेपछि चोरी भएको हतियारबारे रहस्य बाहिरिएको थियो । लव र सरोजले चोरी गरेको भनिएको र भरतको हत्यामा प्रयोग भएको हतियार (१००७९२ र वट नं ख २५) एउटै भएपछि घटनाले नयाँ मोड लिएको थियो । हत्याको आरोप लागेका गंगाधरविरूद्ध बिहीबारको फैसलाले २५ वर्ष कैद तोकेको छ । लव र सरोज भरतपुर कारागारमा रहेका थिए । सेनाको कालिबहादुर गणको आग्रहपछि दुवै जनालाई कारागारले सेनालाई बुझाएको थियो ।

निर्दोष ठहरिएसँगै उनीहरूको जागिर पुनर्बहाली हुने भएको छ । तर ड्युटीको समयमा अन्य साथीलाई ड्युटी छाडेर आफूहरू दोहोरी साँझ गएको आरोपमा बढुवा भने ३ वर्षका लागि रोकिएको छ । ०७५ साल पुस ४ गते हतियार चोरेको आरोप लव र सरोजमाथि थियो। त्यतिखेर समरी अदालतबाट उनी ०७५ चैत २८ गते कारागार चलान भएका थिए। लवकुमार १० र सरोज ७ वर्षका लागि जेल सजाय तोकिएको थियो । चोरी गरिएको हतियार बेचेको आरोमा दुई जना सर्वसाधारण तारा तामाङ र पवन गुरूङले भने सफाइ पाएका थिए ।