काठमाडौं – कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ । पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनेको छ । भोलि शनिबारदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागेको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताउनुभएको हो ।

शाहले भन्नुभयो, ‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा भदौ १९ गतेदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुने छन् ।’ पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् । कम्पनीका महाप्रबन्धक शाहले चन्द्रागिरि हिल्समा शनिबारदेखि नै जिपलाइन समेत शुभारम्भ गर्न लागेको जानकारी दिनुभएको छ ।