काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नभइ भक्तपुरका जिल्ला सभापतिलाई चुनाव हराएर देखाउन एमाले सांसद महेश बस्नेतलाई चेतावनी दिनुभएको छ । उहाँले आज भक्तपुरमा वडा अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

पछिल्लो समय एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएको प्रति लक्षित गर्दै देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिनुभयो । भदौ पहिलो साता बस्नेतले भक्तपुरमा काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफुले सहजै रुपमा विजय हासिल गर्ने दावी गर्नुभएको थियो । बस्नेतले आगामी निर्वाचन पछि भक्तपुरमा काङ्ग्रेसलाई सिला खोज्नुपर्ने अवस्था आउने चेतावनी समेत दिनुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा काङ्ग्रेसको उपस्थिति बलियो रहने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा न. ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताउनुभयो । “बस्नेतजीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्,” देउवाको भनाइ छ ।